कर्णाली सरकारले पठायो भूकम्प प्रभावितलाई २ करोड ४५ लाख रुपैंया

सुर्खेत – कर्णाली प्रदेश सरकाले भूकम्प प्रभावित जिल्लाका पालिकाहरुलाई राहतस्वरुप २ करोड ४५ लाख रुपैयाँ पठाएको छ । प्रदेश सरकारले मंगलबार जाजरकोट, रुकुमपश्चिम र सल्यानका गरी १६ वटा पालिकालाई २ करोड ४५ लाख रकम पठाएको हो ।

कानुन मन्त्रालयका अनुसार जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहमा १ करोड २० लाख, रुकुमपश्चिका भूकम्प प्रभावित ६ वटा स्थानीय तहमा १ करोड र सल्यान जिल्लाका ३ वटा स्थानीय तहका २५ लाख रकम वित्तीय हस्तान्तरण गरिएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीका अनुसार भूकम्प प्रभावित नागरिकहरुलाई राहत सामग्री खरिद तथा वितरण र उद्धारका लागि उक्त रकम पठाइएको हो ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित पालिकाहरु जाजरकोटको भेरी नगरपालिकामा २५ लाख, नलगाड नगरपालिकामा २५ लाख, बारेकोट गाउँपालिकामा २५ लाख, कुशे गाउँपालिकामा २० लाख, छेडागाड नगरपालिकामा १० लाख र शिवालय गाउँपालिकामा ५ लाख रकम पठाइएको छ ।
यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिकालाई २५ लाख, सानोभेरी गाउँपालिकालाई २५ लाख, चौरजहारी नगरपालिकालाई २० लाख र त्रिवेणी गाउँपालिकालाई २० लाख रकम पठाइएको हो ।

भूकम्पबाट प्रभावित सल्यानका तीन पालिकाहरु दार्मा गाउँपालिकामा १५ लाख, वनगाड र बागचौर नगरपालिकालाई ५ लाखका दरमा रकम पठाइएको मन्त्रालयले जनाएको छ ।