हुम्ला – बेलीब्रिज जोड्ने क्रममा चिप्लिएर एक जना कामदारको मृत्यु भएको छ । हुम्लाको सरिसल्लास्थित निर्माणाधीन बेलीब्रिजका नटबोल्ड कस्ने क्रममा चिप्लिएर मंगलबार मध्याह्न १२ बजेतिर बारा जिल्ला कोलबी नगरपालिका(६ सनबार गाउँ घर भएका २० वर्षीय सुरेश चौधरी घाइते भएका थिए ।
उनलाई उपचारका लागि बाजुराको कोल्टी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हुम्ला प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराईले बताए ।
नटबोल्ड कसिरहेको बेला पुलको ड्यामबाट चिप्लिएर टाउको र ढाडमा चोट लागेका चौधरीलाई स्थानीयले उद्धार गरी सरिसल्लामा भएको हिमाल हेल्थ पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि कोल्टी अस्पताल बाजुरा रिफर गरिएको थियो ।
हुम्ला सदरमुकाम सिमकोट जोड्ने कर्णाली कोरिडोर सडकअन्तर्गत सर्केगाड र चंखेली गाउँपालिकाको सरिसल्लामा तत्कालका लागि बेलीब्रिज जडान गरी आगामी फागुन महिनाभित्र सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ पुल जडानको काम द्रुतगतिमा भइरहेको छ ।