कारगारबाट रिहाइ भएको २९ दिनमै प्रेमिकाको हत्या गरेपछि…

रूकुमपश्चिम – रूकुम पश्चिममा एक व्यक्तले कारगारबाट रिहाइ भएको २९ दिनमै अनैतिक सम्बन्धमा रहेकी प्रेमिकाको हत्या गरेको खुलेको छ । गत असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विकले एक युवतीको हत्या गरेको खुलेको हो ।

मंगलबार बिहान मृत अवस्थामा फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा प्रहरीले लोकबहादुरलाई पक्राउ गरेपछि घटनाको रहस्य खुलेको हो।

घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा मुसीकोटस्थित एक होटलको कोठामा भावनाको शव फेला परेको थियो । हत्यामा संलग्न रहेको पाइएपछि मंगलबार साझ खलंगास्थित आफ्नै डेराबाट पक्राउ परेका लोकेन्द्रलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । लोकेन्द्रले हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख नमराज भट्टराईले जानकारी दिए ।

दुवै जना बीच प्रेम ९अनैतिक० सम्बन्धमा रहेको र महिलाले बिहे गर्न प्रस्ताव राखेपछि विवाद बढेपछि लोकेन्द्र हत्याको अवस्थामा पुगेको बयान दिएका प्रमुख भट्टराइले बताए । ‘महिलाले विहे गरौं भन्दा विवाद बढेपछि आवेशमा आएर आफैसँगै रहेको छुरीले हत्या गरेको उसले स्वीकारेको छ,’ डीएसपी भट्टराईले भने, ‘होटलको कोठामा सिरकले छोपेर राखेको अवस्थामा शव फेला परेको हो ।’

गत आइतबार असोज २८ गते लोकेन्द्र र भावनाले होटलको कोठा बुक गरेका थिए । मंगलबार ३० गते बाहिरबाट ढोका बन्द देखेर शंका लागेपछि होटल सञ्चालकले बिहान ८ बजेतिर प्रहरी बोलाएर हेर्दा महिला मृत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि कर्णाली प्रदेश प्रहरीको कोहलपुरबाट तालिमप्रप्त कुकुर समेत ल्याएर अनुसन्धान गरिएको जिल्ला प्रहरी प्रमुख भट्टराईले बताए ।

बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतको फैसला अनुसार ११ महिना कैद तोकिएका लोकेन्द्र ६ महिना कैद भुक्तान गरेर संविधान दिवसका अवसरमा सजाय माफी पाएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका थिए । असोज २ को मन्त्रिपरिषद्को सिफारिसका आधारमा विभिन्न ऐन, नियमअनुसार भोलिपल्टदेखि लागू हुने गरी ६७० जनाको सजाय माफी मिनाहा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले कारागार नियमावली अनुसार नकारात्मक सूचिमा नपरेका आधा सजाय भुक्तान गरिसकेका कैदीको सजाय माफ गर्न सकिने प्रावधान अनुसार यसअघि लोकेन्द्रले सजाय माफी पाएको बताए ।

मृतक भावनाकी सासुआमा उजेली कामीले बुधबार कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि जिल्ला अदालतबाट म्यादथप लिई लोकेन्द्रलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि लोकेन्द्र कारागारमा रहेका बेला पनि मृतक महिला भेट्न जाने गरेको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार मृतक महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् भने लोकेन्द्रकी कान्छी श्रीमती पनि विहे लगत्तै विदेश हिँडेकी थिइन् । – kantipur