कर्णाली सरकारको त्रैमासिक प्रगति विवरण सार्वजनिक

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रथम त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रमका अवसरमा मुख्यमन्त्री शर्माले चालु आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म प्रदेश सरकारले गरेका गतिविधिहरु सार्वजनिक गर्नुभएको हो ।

मंगलबार कार्यप्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शर्माले न्यून बजेट र जनशक्तिको अभावका बिच प्रदेश सरकारले कर्णालीका जनताहरुको आर्थिक सम्पन्नता र सामाजिक न्यायको प्रत्याभुतिमा अहोरात्र खटिरहेको दावी गर्नुभयो ।

प्रदेश सरकारले लिएको समृद्ध कर्णाली सुखारी कर्णालीवासीको उद्देश्य पुरा गरी सरकारलाई जनउत्तरदायी बनाउनका लागि प्रदेश सरकारले सम्पादन गरेका कार्यहरुलाई मुख्यमन्त्री शर्माले ४४ बुँदामा समावेश गरी सार्वजनिक गर्नुभएको छ ।

मुख्यमन्त्री शर्माले कार्यप्रगतिको रुपमा चालु आर्थिक वर्षको नीति तथा बजेट निर्माण र स्वीकृति भई कार्यान्वयनको चरमा रहेकोदेखि लगानी सम्मेलनको तयारीसम्मको कुरालाई लिनुभएको छ ।

यस्तै आफ्नो स्वीजरल्याण्ड भ्रमणमा प्रदेशको आर्थिक विकासका लागि प्रस्ताव तयारी गरी लगानीका लागि छलफल भइरहेको, विभिन्न खाले प्राकृतिक विपद्मा परी क्षति पुगेका कृषकहरुलाई ६ करोड राहत उपलब्ध गराउन गरिएको निर्णयलाई समेत मुख्यमन्त्री शर्माले आफ्ना प्रमुख उपलब्धिमा समावेश गर्नुभएको छ ।

यस्तै प्रगतिको रुपमा प्रदेशसभाबाट कर्णाली प्रदेश विनियोजन ऐन, कर्णाली प्रदेश आर्थिक ऐन, कर्णाली प्रदेश निजामती सेवा ऐन तथा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन पारित भएको, तीन वटा सभामा दर्ता भई विषयगत समितिमा छलफल भइरहेको तथा नौ वटा विधेयकको मस्यौदा निर्माण गर्ने कार्य भइरहेको मुख्यमन्त्री शर्माले बताउनुभयो ।