प्रदेश अस्पताल सुर्खेतमा एमआरआई सेवा सुरु, अब बाह्य जिल्ला धाउन नपर्ने

सुर्खेत – कर्णाली प्रदेश अस्पतालमा एमआरआई सेवा सुरु भएको छ । एमआरआई सेवा सुरु गर्ने प्रदेश अस्पताल सुर्खेत, कर्णालीकै पहिलो अस्पताल हो ।

प्रदेश अस्पतालमा एमआरआई सेवा सुरु गर्न २९ करोड बढी रकम खर्च भएको छ । प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा डम्बर खड्काका अनुसार नेपालकै उत्कृष्ट मेसिनबाट एमआरआई सेवा सुरु गरिएको हो ।

उनका अनुसार करिब दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरु इन्स्टल गरिएपछि शुक्रबारदेखि एमआरआई सेवा सुचारु भएको छ ।

निर्देशक खड्काका अनुसार सुर्खेतमै एमआरआई सेवा सुरू भएपछि अब कर्णालीका नागरिकलाई उपचारका लागि बाह्य जिल्ला धाउनुपर्र्ने बाध्यता अन्त्य भएको छ । उक्त मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको हो ।

नेपालकै सबै भन्दा बढि क्षमताको उक्त मेसिनबाट दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने छ । सुर्खेतमै आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडान भएपछि कर्णालीका नागरिक पनि खुसी भएका छन् ।

एमआरआई मेसिन खरिदको लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई बजेट उलब्ध गराएको हो । उक्त मेसीन नेपाली रुपैंयाँ २९ करोड ७१ लाख परेको छ । मेसिन २०२३ मा निर्मित भई परिक्षणमा आएको हो ।