राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती

काठमाडौं – संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। स्व. नेम्बाङलाई उनका दुई छोराहरुले दागबत्ती दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेताहरु र सयौं शुभचिन्तकहरुले पशुपति पुगेर नेम्बाङको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली दिएका छन्।

नेम्बाङको पार्थिव शरिरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा र पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका छन्। आज बिहान १ बजे नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गरि पशुपति आर्यघाट पुर्याइएको थियो।

७१ वर्षीय नेम्वाङले संविधान निर्माणमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै सरकारले आज शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको छ। नेम्बाङको सोमवार राति आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थियो।