कोशीमा एमाले नेताहरू हाम्रो पछि लागेका छन : अध्यक्ष नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा नेकपा एमाले आफूहरूको पछि लागेको बताएका छन्।

शनिबार पार्टी निकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट मुख्यमन्त्री हिक्मत कार्की बनेकाले विश्वासका मतका लागि आफूहरूको पछि लागेको बताएका हुन्। उनले आफ्नो पार्टीको विशेष भूमिका रहेको उल्लेख गर्दै एमालेका नेताहरू मिल्नका लागि पछि लागेको बताए।

‘नेपालको राजनीतिमा हाम्रो पार्टीको विशेष भूमिका छ। सबैले हामीसँग आशा गरिरहेका हुन्छन्। कतै समस्या भयो हाम्रो पार्टीलाई खोज्छन्। अहिले कोशी प्रदेशमा समस्या खडा भएको छ। हाम्रा साथीको पछि लागेको लाग्यै छन्। मिलौं न मिलौं न, सँगै जाउँ न भनिरहेका छन्। यसको महत्व र उपयोगिता देखेर न हो। संख्या र व्यक्तित्व देखेर पछि लागिरहेका छन्। संख्या मात्रै महत्वपूर्ण हुँदैन,’ उनले भने।

गत बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता कार्कीलाई नियुक्त गर्न आदेश दिएको थियो। आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुनः पदमुक्त भइसकेका छन्।