संस्थागत रणनीति निर्माणमा जुटे उद्योग व्यवसायी

सुर्खेत – कर्णाली प्रदेशका उद्योग व्यवसायीहरु संस्थागत रणनीति निर्माणमा जुटेका छन् । उद्योग व्यवसायीहरुको अधिकार र कर्तव्यसहितको संस्थागत रणनीति बनाउन लागिएको हो ।

संस्थागत रणनीति निर्माणका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाका उद्योग व्यवसायीहरु सुर्खेत झरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको आयोजनामा मंगलबारदेखि वीरेन्द्रनगरमा संस्थागत रणनीति विकास कार्यशाला संचालन भएको हो ।

दुई दिनसम्म संचालन हुने कार्यशालामा कर्णालीका १० वटै जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्ष, कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यशालाबाट संस्थागत रणनीति बनाएर सार्वजनिक गर्ने तयारी छ ।

कार्यशालाको उद्घाटनमा बोल्दै कर्णाली सरकारका कृषि मन्त्री भिमप्रकाश शर्माले सरकार, नीजि क्षेत्र र साझेदारी संस्था मिलेर कृषकको हितका लागि काम गर्ने खालको संस्थागत रणनीति बनाउन सुझाब दिए । कृषि र जडिबुटीबाट कर्णाली आत्मनिर्भर बन्नसक्ने संभावना रहेको भन्दै लगानीको खाँचो रहेको उनले औंल्याए । साथै उत्पादित कृषि उपजको बजारीकरणका लागि सरकारको ध्यान गएको उनको भनाइ छ ।

नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहीले कर्णाली सरकारले उद्योग व्यवसायीको हितमा काम गर्न नसकेको गुनासो गर्दै कर बृद्धि गर्नुभन्दा दायरा फराकिलो बनाउन सुझाब दिए ।

नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश कोषाध्यक्ष निरक केसीले राजनैनिक पहुँचको आधारमा दिइएका अनुदानका कार्यक्रम दुरुपयोग भएको भन्दै यस्ता कार्यक्रमले व्यवसायी माथि उठ्न नसक्ने तर्क गरे ।

नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश उपाध्यक्ष हर्षविक्रम खड्काले बजारीकरणको समस्याका कारण कृषकहरु निरुत्साहित भएको भन्दै कृषकलाई उत्साहित बनाउने खालका कार्यक्रम ल्याउनपर्ने बताए । दुई दिने कार्यशाला संचालनमा जीआईजेटले सहयोग गरेको छ ।