मौसम सुधारसँगै हुम्लामा ५ दिनपछि हवाई उडान सुरु

फाइल तस्विर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान भएको छ। लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान हुन सकेको थिएन।

गत आइतबार उडान भरेका निजी जहाज सोमबार बिहानदेखि हुम्लामा लगातार पानी परेका कारण सञ्चालन हुन सकेका थिएनन्। आज बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगन्जबाट समिट एयरले पहिलो उडान सिमकोट भरेको हुम्लाका स्टेसन इन्चार्ज गोविन्द लामाले बताए। बिहान १० बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्स उडान भर्न सफल भएका हुन्।

हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई केही सहज भएको छ। जिल्लामा दैनिक उपभोग्य वस्तु भित्रिएका छन्। योसँगै जिल्लामा पसल व्यवसायीका सामग्री, निर्माण सामग्री, खाद्यान्न पनि भित्रिएका छन्। नेपालगन्जबाट समिट, सीता र तारा एयरले हुम्लामा उडान भरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए।

बिहान पानी पर्ने र दिउँसो हावा लाग्ने हुँदा हुम्लामा पाँच दिनसम्म उडान हुन सकेको थिएन। उडान नभएपछि पाँच दिनअघि टिकट लिएका यात्रु नेपालगन्ज विमानस्थलमै रोकिनुपरेको थियो। उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य सामान पनि ढुवानी हुने भएका छन्।