स्वर्ण पदक विजेता नन्दा बस्याललाई गृहजिल्लामा सम्मान

सुर्खेत – अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल खेलाडी नन्दा बस्याललाई सुर्खेतमा सम्मान गरिएको छ ।

विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उनले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । पदक विजेता बस्याललाई गृहजिल्ला सुर्खेतमा शनिबार सम्मान गरिएको हो ।

जुलाई २१ देखि २४ सम्म दक्षिण कोरियामा विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता आयोजना भएको थियो । सोही प्रतियोगितामा नेपालको तर्फबाट बस्यालले स्वर्ण पदक जितेकी थिइन् ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसमेत रहेकी बस्यालले पदक जितेको खुशीयालीमा उनलाई गृहजिल्ला सुर्खेतमा स्वागतसहित सम्मान गरिएको हो । सुर्खेत जिल्ला तेक्वान्दो संघले उनको सम्मानमा पञ्चेबाजासहित वीरेन्द्रनगर बजार परिक्रमा गराएको छ ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मान कार्यक्रममा बस्यालसँगै कास्य पदक विजेता प्रविन वयकलाई पनि सम्मान गरिएको छ । तेक्वान्दो खेलाडी वयकले गत असार २९ गते थाइल्याण्डमा सम्पन्न भएको ओप्पन तेक्वान्दो प्रतियोगितामा कास्य पदक जितेका थिए ।

जिल्ला तेक्वान्दो संघका अनुसार स्वर्ण पदक विजेता बस्याल र कास्य पदक विजेता वयकलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा खेलाडी र सर्वसाधारणहरूको पनि सहभागिता रहेको थियो । साथै स्थानीय बासिन्दाले पनि बस्याल र वयकलाई फुलमाला, अवीर र खादाले विभिन्न चोकमा सम्मान गरेका थिए ।

कर्णाली प्रदेश तेक्वान्दोका प्रमुख प्रशिक्षक भुवन थापाले कर्णालीकी छोरी नन्दा बस्यालले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा स्वर्ण पदक जितेर नेपालको नाम विश्वभर चिनाएको बताए । अवसर पाएमा कर्णालीमा जन्मिएका खेलाडीले पनि देशका लागि पदक दिलाउन सक्ने उनको भनाइ छ ।

यस्तै जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरीले कर्णालीमा पनि अन्तर्राष्ट्रिय स्तरका पदक दिलाउने खेलाडीहरू रहेको बताए । बस्यालले सुर्खेत र कर्णालीको मात्र नभइ देशकै शिर ठाडो बनाएको उनको भनाइ छ ।

स्वर्ण पदक विजेता खेलाडी बस्यालले गृहजिल्लामा पाएको सम्मान र स्वागतले थप हौसला मिलेको बताइन् । गृहजिल्लामा पाएको यो सम्मानले थप हौसला मिलेको भन्दै देशका लागि पदक जित्ने अवसर पाएकोमा खुशी व्यक्त गरिन् । यस्ता सम्मान र स्वागतले खेलाडीहरूमा थप ऊर्जा मिल्ने उनको भनाइ छ ।