रित्तियो कर्णाली प्रादेशिक खाद्य गोदाम, आपूर्ति ठप्प

सुर्खेत – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले केही समययता कर्णालीमा खाद्य आपूर्ति गर्न सकेको छैन । खाद्य आपूर्ति गर्न नसक्दा एकातिर खाद्य गोदाम रित्तिदै गएका छन् । भने अर्कोतिर चामल किन्न खाद्य संस्थान पुगेका नागरिक रित्तो हात फर्किन बाध्य छन् ।

हिजोआज खाद्य व्यवस्था प्रादेशिक कार्यालयमा अत्यावश्यक परेको खण्डमा प्रयोग गर्ने भनेर राखिएको मौज्दातबाहेक गोदाममा थप चामल आपुर्ति भएको छैन । प्रादेशिक कार्यालयले २० हजार क्वीन्टल चामल माग गरेको थियो । तर टेण्डर प्रक्रियामा भएको ढिलाइले चामल ढुवानी हुन नसकेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दका अनुसार माग गरिएको चामल भनेकै समयमा पु¥याउन सकिएको छैन । चामल आपुर्तिका लागि दुई पटकसम्म टेण्डर गर्दा पनि रद्द हुदाँ ढिलाई भएको उनले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुनु, भारतले चामल आयातमा प्रतिबन्ध लगाउनु र टेण्डर प्रक्रियामा भएको ढिलाइले खाद्य आपूर्तिमा समस्या भएको हो ।

प्रदेशका विभिन्न जिल्लामा पठाउने आठ हजार क्वीन्टलको लागि सम्झौताको काम अन्तिम चरणमा पुगेको छ । भने बाँकी १२ हजार क्वीन्टल चामल ढुवानीका लागि टेण्डर खुलाईएको छ । कार्यालयले खाद्य अभाव हुन नदिनेगरी प्रक्रियागत रूपमा काम गरिरहेको छ । तर समयमै समस्या समाधान नहुदाँ सेवाग्राही सास्तीमा छन् ।

हाल प्रादेशिक कार्यालयमा सात सय ५० क्वीन्टल चामल मात्र मौज्दात छ । यो निकै अप्रयाप्त हो । गोदाम रित्तिएसँगै चालम बिक्री वितरण पनि भएको छैन । जसले गर्दा दैनिक नागरिक रित्तो हात घर फर्किनुपर्ने अवस्था छ । तर गत वर्ष यो समयमा कार्यालयमा १२ हजार क्वीन्टल चामल मौज्दात थियो ।

प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रका अनुसार माग गरिएको खाद्य आपूर्ति नहुँदा सहज रूपमा चामल बिक्री गर्न नसकिएको हो । प्रक्रिया अघि बढेकाले अबको केही दिनमा चामल गोदाममा आइपुग्ने उनले बताए ।

सँधै चामलले टनाटन भरिने र सजिलै चामल उपलब्ध हुने खाद्य गोदाम रित्तिएपछि उपभोक्ता मारमा परेका छन् । खाद्यको चामल नपाएपछि उपभोक्ता बजारबाट महँगोमा चामल किन्न बाध्य भएका हुन् ।

यता प्रादेशिक कार्यालयमा मात्रै होइन जुम्लामा पनि चामल मौज्दात न्यून छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लामा आयात हुँदै आएको चामल अभाव हुने देखिएको छ । अहिले सर्वसाधारणका लागि वितरण स्थगित गरिएको छ ।

कार्यालय प्रमुख निर्मल विष्टका अनुसार अघिल्लो आर्थिक वर्षबाट बचेको नौ सय ६० क्वीन्टल मात्रै मौज्दात रहेको छ । अतिआवश्यक काममा प्रयोग गर्नेगरी चामल मौज्दात राखिएको हो । नयाँ चामल ढुवानी नहुँदासम्म सर्वसाधरणका लागि चामल वितरण स्थगित गरिएको उनको भनाइ छ । दुई हजार क्वीन्टल खाद्यान्न आपूर्ति गर्नका लागि प्रादेशिक कार्यालयमार्फत् केन्द्रीय कार्यालयलाई अनुरोध गरिएको उनले बताए ।

यस्तै मुगु जिल्ला सदरमुकामस्थित नेपाल खाद्य संस्थानको गोदामबाट सर्वसाधरणले चामल पाएका छैनन् । गोदाममा ६ सय आठ क्वीन्टल मात्र चामल मौज्दात छ । ढुवानी हुनुपर्ने चामल आपूर्ति नहुँदा समस्या भएको संस्थानको शाखा कार्यालयले जनाएको छ । चामल लिन गाउँबाट सदरमुकाम आएका स्थानीय रित्तो हात फर्कन बाध्य छन् । अत्यावश्यक बाहेक नागरिकका लागि चामल बिक्री वितरण स्थगित गरिएको खाद्य संस्थानका शाखा प्रमुख पुष्कर भामले बताए ।

सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरेपनि कार्यान्वयन प्रक्रियागत ढिलाईका कारण नागरिकले समयमा चामल पाउन सकेका छैनन् ।