सुन प्रकरण : एमालेले संसद् चल्न नदिने

काठमाडौं – एमालेले क्विन्टल सुन प्रकरणलाई लिएर सोमबार पनि संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको भेटमा संसद्को अवरोध हटाउनेबारे कुनै निष्कर्षमा नपुगेको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

‘कुनै निष्कर्ष प्रधानमन्त्रीले अध्यक्षलाई दिनु भएन भन्ने जानकारी छ,’ नेम्वाङले भने, ‘संसद्को अवरोध यथावत् नै रहन्छ।’

त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइएको १०० किलो सुनको मालिक पक्राउ गर्न नसकेको भन्दै एमालेले साउन १० गते बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो।

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ।