वर्तमान सत्ता गठबन्धन परिवर्तन हुन्न : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्।

सरकारले जनताप्रति दत्तचित्त भई काम गर्ने उनले बताए। बरु नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने र साथै नयाँ बाटो खोज्ने उनको भनाइ थियो।

यसैगरी उनले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने पनि बताए।

सहकर्मीको साथ र संख्या पुगेमा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास जारी राख्ने जानकारी उनले दिए। पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग पनि भइसकेको उनको भनाइ थियो। यसअघि नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त उनले गरे।

देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने भनाइ उनको थियो। कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उनले बताए। केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उनले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको धारणा राखे।