कर्णाली प्रदेश मामिला समिति सभापति खड्का दुर्घटनामा घाईते

रुकुम पश्चिम – कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का घाईते हुनुभएको छ ।

शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ घारीपाखानेर उहाँ चढेको कर्णाली प्रदेश ०२ – ००१ झ ००४४ नम्वरको जिप दुर्घटना हुँदा उहाँ घाइते हुनुभएको हो । दुर्घटनामा परेर माननिय खड्काको बाँया खुट्टामा चोट लागेको उहाँका स्वकिय सचिव हुकुम बिसीले जानकारी दिए ।

उक्त दुर्घटनामा परेर चौरजहारी नगरपालिका- ९ मा रहेको आधारभूत विद्यालय भुवा टाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, माननिय खड्काका स्वकिय सचिव हुकुम बिसी, चालक युवराज गिरी सहित गाडिमा सवार नौ जना घाईते हुनुभएको बताईएको छ । प्रधानाध्यापक मल्लको हात भाँचिएको छ भने अरु सबैको अवस्था सामान्य रहेको छ ।

भोलि आईतबारका दिन रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँ सभामा सहभागि हुन त्यसतर्फ जाने क्रममा गाडि दुर्घटना भएको हो । गाडिको स्टेरिङ अकस्मात घुमेपछि गाडि अनियन्त्रित भएर पल्टिएको गाडि चालक गिरीको प्रतिक्रिया रहेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट पुगेको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि चौरजहारी अस्पतालतर्फ लिएको छ ।