आज विश्व योग दिवस : नेपालमा पनि मनाइँदै

काठमाडौं – आज नवौं अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि योग तथा योगबाट हुने फाइदाका विषयमा जनचेतनामूलक कार्यक्रमहरु गरी यो दिवस मनाईदै छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन शुरु गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा राष्ट्रसंघ महासभाले जुन २१ लाई विश्व योग दिवस घोषणा गरेको थियो ।

यस अवसरमा नेपालका विभिन्न स्थानमा बुधबार योगाभ्यास कार्यक्रमहरु आयोजना गरिएका छन् । राजधानीमा आयोजित योग दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले योगबाट शारीरिक तन्दुरुस्ती मात्रै नभए मानसिक शान्ति पनि प्राप्त गर्न सकिने धारणा ब्यक्त गर्नुभयो ।

काठमाडौंस्थित भारतीय दूतावासले भने यस पटक पोखरा रङ्गशालामा योग दिवस कार्यक्रम आयोजना गरेको छ । राष्ट्रसंघको आह्वानमा नौ वर्ष अघि विश्व योग दिवस मनाउन थालिए पनि नेपालमा भने वि।सं २०३६ सालदेखि नै हरेक वर्ष माघ १ गते योग दिवस मनाउने गरिएको छ ।

सूर्य उत्तरायण हुने दिनको अवसर पारेर माघ १ गते योग दिवस मनाउन थालिएको थियो । नेपाल सरकारले २०७२ सालमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

मानव स्वास्थ्यका लागि योग र ध्यानको विशेष महत्व रहने भएकाले अहिले विश्वभर नै योग र ध्यान गर्ने प्रचलन ब्यापक बन्दै गएको छ ।