किन फेरि अस्पताल भर्ना भए राष्ट्रपति पौडेल ? अहिले कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ – केही दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन्।

मुटुमा समस्या देखिएपछि शनिबार सबैरे उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।

मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्न मणि गजुरेलले जानकारी दिए।

उनले केही बेरअघि विज्ञप्ति जारी गरी भनेका छन्, ‘सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ।’

हृदयाघातको उपचार गराएर गत बुधबार मात्र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) बाट डिस्चार्ज भएका पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई आज बिहान ३ बजे मनमोहन ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलबार गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो। त्यहाँ पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो।

यसअघि गत वैशाखमा राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्ली गएर उपचार गराएका थिए।