ओडिशामा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३८ पुग्यो

काठमाडौं – भारतको ओडिशा राज्यको बालासोर जिल्ला नजिकै भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३८ पुगेको छ । दुर्घटनामा ९०० भन्दा बढी यात्रु घाइते भएका छन् ।

बीबीसीका अनुसार हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटना भएको हो । अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको समाचारमा उल्लेख छ ।

भारतका रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।