उफ् गर्मी ! मौसमविद् भन्छन्– घट्ने सम्भावना छैन

काठमाडौँ – केही दिनयता देशभर तापक्रम बढ्दा गर्मी भइरहेको छ। खासगरी अत्यधिक गर्मीले पूर्वी तथा मध्य तराईको जनजीवन कष्टकर बनिरहेको छ।

गर्मी खपिनसक्नु भएपछि सुनसरीका तीन स्थानीय तहका विद्यालयमा एक साता बिदा

त्यसो त काठमाडौं उपत्यकामै पनि अहिले बिहानैदेखि गर्मी महसुस हुन्छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले कम्तीमा अरू ३ दिन तापक्रम बढ्ने क्रम रोकिने अवस्था नदेखिएको बताए।

‘तापक्रम घट्नलाई पानी नै पर्नुपर्छ, मौसम बदली (आकाशमा बादल) हुनुपर्छ’, उनले भने, ‘अझै २/३ दिन त्यस्तो ठूलो सिस्टम (पानी पार्ने मौसमी प्रणाली) आउने देखिन्न, त्यसैले तापक्रम घट्ने सम्भावना देखिन्न।’

मौसमविद् अधिकारीअनुसार अहिले काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्रीभन्दा माथि पुगिसकेको छ। ‘हिजो (बुधबार) उपत्यकाको अधिकतम तापक्रम ३२.२ डिग्री सेल्सियस पुगेको छ’, उनले भने, ‘आज पनि यहाँ अधिकत तापक्रम ३१ देखि ३३ डिग्रीसम्म पुग्ने देखिन्छ, यसको अर्थ तापक्रम घट्ने सम्भावना छैन।’

काठमाडौं उपत्यकाबाहिर सिमरा, भैरहवाजस्ता ठाउँमा त अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बुधबार सबैभन्दा बढी तापक्रम सिमरामा ४१.२ डिग्री सेल्सियस देखिएको छ। यसपछि अन्य सबै स्थानभन्दा बढी अधिकतम तापक्रम भैरहवामा बुधबार ४०.९ डिग्री सेल्सियस पुगेको छ।

हिजोआज कतै बदली नै नभएको तथा पानी नै नपरेको भने होइन। तर तापक्रम घट्नेगरी वर्षा नभएको मौसमविद् अधिकारीको भनाइ छ। उनका अनुसार सुदूरपश्चिम तथा पहाडी क्षेत्रमा मौसम बदली र फाटफुट वर्षा भइरहेकाले तुलनात्मक रूपमा त्यता तापक्रम धेरै वृद्धि भएको छैन।

तराईकै हकमा पनि मधेश र लुम्बिनी प्रदेशमा जति उखरमाउलो गर्मी सुदूरपश्चिमतिर नभएको उनको भनाइ छ।

आज दिउँसो पनि सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा (२५ प्रतिशत आकाशमा मात्र बादल) रहने मौसम महाशाखाले जनाएको छ। यस क्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भेगका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मधेश र लुम्बिनीमा हावाहुरीको सम्भावना

आज दिउँसो मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। ‘त्यता वर्षाको सम्भावना भने देखिएको छैन’, मौसमविद् अधिकारीले भने।

राति मौसम कस्तो रहला ?

मौसम महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली (२६ प्रतिशतदेखि ५० प्रतिशतसम्म आकाशमा बादल लाग्नु) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

मौसम महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

त्यसमा भनिएको छ– सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका ‍एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।