घरभाडा घटाउन होटल व्यवसायीकाे माग

 बुटवल – व्यवसायमा टिक्न गाह्रो भएको भन्दै रुपन्देहीका होटल व्यवसायीले घरभाडा घटाउन घरधनीसँग माग गरेका छन् ।

विगतको कोभिड–१९ महामारी र हालको आर्थिक मन्दीले व्यवसाय खस्केको भन्दै उनीहरुले घरभाडा पनि चर्को हुँदा विस्थापित हुने अवस्था आएको बताएका छन् । २० देखि ४० प्रतिशत घरभाडा घटाउनुपर्ने व्यवसायीको माग छ ।

आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बुटवलबाट प्रदेशको स्थायी राजधानी सर्नु, अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन नहुनु जस्ता कारणले व्यवसाय ठप्पप्रायस् रहेको बताए । व्यवसायीलाई पलायन हुनबाट जोगाउन घरभाडा घटाउनुपर्ने उनको भनाइ छ ।

रुपन्देहीका १२ सय होटलमध्ये ९० प्रतिशत भाडाका घरमा सञ्चालनमा रहेको अनुमान छ । ‘कैयौं व्यवसायी चर्काे भाडा तिर्न नसकेर पलायन भए, लगानी डुबाएर घरधनीलाई होटल जिम्मा लगाएर रित्तै हिंडेका छन्’ अध्यक्ष भण्डारीले भने, ‘घरभाडा सम्बन्धी निश्चित ऐन–कानुन र मापदण्ड नहुँदा घरधनीहरुले मनोमानी गरेका छन् ।’