युक्रेनको बाख्मत कब्जा गर्ने क्रममा २० हजार लडाकु मारिएको वागनर समूहको दावी

रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको निजी सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ ।

वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा २० हजार लडाकु गुमाउनु परेको बताएका हुन् ।

प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । युक्रेनले पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको प्रति आक्रमण रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत लखेट्ने उद्धेश्य रहेको हुनसक्ने पनि उनले बताएका छन् । रुस त्यसको प्रतिकार गर्न पूर्ण तयारीमा रहनुपर्ने उनको सुझाव छ ।

बाख्मतमा रुसले ब्यहोरेको यो क्षति सन् ८० दशकमा अफगानिस्तान युद्धमा सोभियत संघले गुमाएको सैनिक संख्या भन्दा ठूलो हो । मस्कोले भने बाख्मतमा ६ हजार सैनिक मात्रै मारिएको दावी गरेको छ ।

निजी सैनिक समुह वागनरमा कम तालिमप्राप्त लडाकुहरु धेरै भएकाले क्षति बढी भएको हुनसक्ने विश्लेषण गरिएको छ ।