नीति तथा कार्यक्रमको छलफल जारी रहने, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ – संसद्‌मा सरकारको नीति तथा कार्यक्रमबारेको छलफल आज ९मंगलबार० पनि जारी रहने भएको छ।

आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रमबारे आज पनि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैका बैठकमा छलफल हुने भएको हो।

त्यसका लागि प्रतिनिधि सभाको बैठक अहिले बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमबारे प्रतिनिधि सभामा गत आइतबारदेखि र राष्ट्रिय सभामा सोमबारदेखि छलफल भइरहेको छ। नीति तथा कार्यक्रमबारे सांसदहरूले आआफ्ना धारणा राखिरहेका छन्।

राष्ट्रिय सभाको बैठकमा भने आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची पनि छ। सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नमा उनले जवाफ दिने भएका हुन्।