२४ घण्टालाई चेतावनी : पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ – आज (शनिबार) विशेषगरी देशका पहाडी भेगमा वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसो त अहिले (बिहान साढे ७ बजे) पनि लुम्बिनीका प्रदेशका विभिन्न स्थान र देशका पहाडी भेगका एक दुई स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। ‘यो दिउँसो क्रमशः बढ्दै जाने सम्भावना छ’, उनले भने।

महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ‘यसमा गण्डकी, बागमती र कोशी प्रदेशमा वर्षाको विशेष सम्भावना देखिएको छ’, मौसमविद् अधिकारीले भने, ‘आज दिउँसो काठमाडौं उपत्यकामा पनि हिजोजस्तै पानी पर्ने सम्भावना छ।’

यसैबीच आज दिउँसो कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा हावाहुरी आउने सम्भावना रहेको उनले जानकारी दिए। ‘सँगसँगै कोशी प्रदेशका सबै र मधेश प्रदेशका एक दुई स्थानमा आज दिउँसो वर्षा पनि हुने सम्भावना छ’, मौसमविद् अधिकारीले भने।

महाशाखाको बुलेटिनअनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। मौसमविद् अधिकारीका अनुसार हल्का वर्षा भन्नाले १० मिलिमिटरसम्मको वर्षालाई बुझिन्छ भने मध्यम वर्षा भनेको १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु हो।

मौसम महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

त्यसमा भनिएको छ– देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना हुनाले त्यसबाट हुनसक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।