काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।
सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेल प्रतिलिटर मूल्य १५५ रुपैयाँ कायम भएको छ ।
यसअघि १६५ रुपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।
सोमबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो । सोही अनुसार सञ्चालक समिति बैठकले मूल्य समायोजन गरेको हो ।