‘हाई प्रोफाईल’का व्यक्ति पक्राउ पर्दा गृह प्रशासनको प्रशंसा

काठमाडौं – नेपालीलाई नक्कली भुटानी शरणर्थी बनाएर अमेरिका पुर्‍याएको आरोपमा हाईप्रोफाईल व्यक्तिलाई पक्राउ गरेकोमा गृह मन्त्रालयदेखि लिएर प्रहरी प्रशासन प्रशंसाका पात्र बनेका छन् । सुशासनलाई सत्ताको सिंढी बनाउने र सत्तामा पुगेपछि भ्रष्टाचार संस्थागत गर्ने दलका नेताहरुको दशकौंदेखि स्थापित कार्यशैलीबाट दिक्क बनेका नागरिक सरकारको तदारुकताबाट आशावादी बनेको छन् ।

यसअघि चर्चित भ्रष्टाचार काण्डमा संलग्न भएका हाईप्रोफाईल व्यक्तिहरुलाई सरकारको तर्फबाट नै संरक्षण हुँदै आएका छन् । वाइडबडी घोटाला काण्ड, बाँसबारी जग्गा घोटाला, बालमन्दिर जग्गा, मातातीर्थ जग्गा, यती, ओम्नी, लडाकु शिविरका घोटाल, सीसीटीभी फुटेज, बजेटमा बिचौलियालगायतका दर्जनौं काण्डलाई सरकार पक्षबाट नै संरक्षण हुँदै आएका नजिर छन् ।

तर, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने गिरोहसँग मिलिभगत गरेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ । भने एमाले सांसद सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी गरिसकेको छ । यद्यपी रायमाझी फरार हुनुहुन्छ । त्यस्तै, यो घटनामा थुर्पै हाईप्रोफाईल व्यक्तिहरुको नाम जोडिएको छ भने, कतिपयलाई प्रहरीले पक्राउ गरिसकेको छ । यसले नागरिकको आशा जगाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार तथा प्रहरीको पछिल्लो कदमको संसद देखि सदनसम्म, सामाजिक सञ्जाल देखि लिएर आमरुपमै तारिफयोग्य छ । अबका दिनमा भएका अनियमितताका घटना ब्यूँताएर दोषीलाई कारवाही गर्नुपर्ने माग उनीहरुले उठाएका छन् ।

एकातिर लाखौं जनशक्ति काम नपाएर विदेश भौंतारिनुपर्ने अर्कातिर सीमित वर्ग राजनीतिका नाममा सधैं गोरखधन्दा चलाउने अवस्थाको अन्त्य हुनुपर्ने आमनागरिकको मत छ । यदि राजनीतिक नेतृत्व थोरै मात्र पनि इमान्दार हुने हो भने सुशासनको गन्तव्य टाढा छैन । ३ करोड जनताको नैतिक समर्थन रहेको यस विषयमा सरकार आफ्नो वचनप्रति प्रतिवद्ध हुन जरुरी छ ।