आठ करोड पेश्किलिएर ठेकेदार सम्पर्कविहिन

रारा पर्यटकीय पूर्वाधार निर्माण कार्य अलपत्र

मुुगु – कर्णाली प्रदेशको प्रमुुख पर्यटकीय केन्द्र रारातालमा निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र छ । निर्माणको जिम्मा लिएको कम्पनीले नै लापरवाही गरेपछि तीन वर्षदेखि रारा पर्यटकीय पूर्वाधार निर्माण कार्य अन्तर्गत साइकल लेन पर्यटकीय पदमार्ग आयोजनाको काम अलपत्र परेको हो ।

रारामा पर्यटकीय पूर्वाधार साइकल लेन पदमार्ग निर्माणका लागि नेपाल सरकार संघीय सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा ४६ करोड ४२ लाख बजेट प्राप्त भएको हो । उक्त बजेटमा खानी थोदुुङ क्याराभान कन्ट्रक्सन प्रा.लिले निर्माण कार्यको ठेक्का लिएपनि काम अझैसम्म हुन सकेको छैन । योजना निर्माणको जिम्मा पाएको कन्ट्रक्सन प्रा.लिका प्रोपाइटर चन्द्र थकालीले आठ करोड पेश्की लिएर काम नगरी योजना अलपत्र छाडेका हुन् । राराताल वरिपरि १४ किलोमिटर पर्यटकीय पूर्वाधार निर्माण साइकल लेन पर्यटन पदमार्ग निमार्ण गर्नुपर्नेे भएपनि तीन वर्षदेखि काम अलपत्र अवस्थामा छ ।

निर्माण सामाग्री छरपस्ट

पर्यटकीय पूर्वाधार साइकल लेन पर्यटन पदमार्ग निर्माणका लागि ल्याइएका सिमेन्टका इँटा, कंक्रिट जस्ता सामाग्री यत्रतत्र छरपस्ट फालिएका छन् । तोकिएको समयमा काम सक्नेगरी योजना सम्झौता भएपनि ठेकेदार कम्पनीको लापरवाहीका कारण काम अगाडी बढ्न सकेको छैन । जिल्ला वन डिभिजन कार्यालय मुुगुुका निमित्त कार्यालय प्रमुुख अम्मर साहका अनुसार उक्त बहुुवर्षीय योजना ०८२ सालसम्म सक्नुुपर्ने भएपनि कम्पनीको लापरवाहीले काम रोकिएको छ । कार्यालयका अनुसार ठेक्का कम्पनीको कुुनै पनि व्यक्ति सम्पर्कमा छैनन् ।

पेश्किलिएर सम्पर्कविहिन

‘आठ करोड पेश्की गएको छ । काम अलिकति वहानाको मात्रै भएको र त्यहिँ पनि अधुरो अवस्थामा छ’ उनले भने, ‘तीन वर्षसम्ममा पनि सोचेअनुुरूप काम नभएपछि पेश्की फिर्ताको बारम्बार चिठी पठाएका छौँ, तर सुनुुवाई भएको छैन ।’ बरु उल्टै ठेक्का कम्पनीले योजना सदरको माग गर्दै उच्च अदालतमा मुद्दा हालेको उनले बताए । उनका अनुसार उच्च अदालतमा हालेको पहिलो मुुद्दा २०७९ फागुुन १७ गते रिट निवेदन खारेज गरिसकेकोले पुनः मुद्दा हालेको भन्ने बुझिएको छ ।

कार्यालयको तर्फबाट रकम फिर्ताको प्रक्रियागत उपाय अपनाईएको छ । ठेक्का कम्पनीले राज्यको पैसा दोहनगर्ने, कामनगर्ने ब्याज मात्र असुली गर्नेजस्तो देखिएकाले सम्बन्धित निकायमा रकम असुुलीको पत्र बारम्बार पठाइएको निमित्त प्रमुख साहले बताए ।

यता रारा–रारा राष्ट्रिय निकुुञ्जका कार्यालय प्रमुख विश्वबाबु श्रेष्ठले निकुुञ्जभित्र पर्यटकीय पूर्वाधार निर्माण हुने भनिएको वर्षौ भएपनि काम नभएकोमा दुख व्यक्त गरे । ‘निकुञ्जभित्र पूर्वाधार निर्माण हुने भएकाले हामीले अनुुमति दिइका हौं, तर एकपटक अनुमति लिएपनि निर्माणको काम हुनसकेको छैन’ उनले भने, ‘पर्यटकीय पूर्वाधार निर्माण नहुदाँ रारा घुम्नआउने पर्यटकलाई समेत असहज छ । भने अर्कोतिर पेश्किलिएर काम अलपत्र छोड्नु राज्यको रकमको दोहन पनि हो ।’ काम अलपत्र छोड्दा राराको सौन्दर्यतामा समेत आँच आएको निकुञ्जका निमित्त वन संरक्षण अधिकृत श्रेष्ठले बताए ।

यता योजना अलपत्रका विषयमा जानकारी लिनखोज्दा निर्माणको जिम्मा पाएको खानी थोदुुङ क्याराभान कन्ट्क्सन प्रा.लिका प्रोप्राइटर चन्द्र थकालीसँग पटकपटक सम्पर्क गर्दापनि कुरा नै हुनसकेको छैन ।

प्रदेश सरकारपनि उस्तै

यसअघि आर्थिक वर्ष २०७६÷०७७ मा पनि कर्णाली प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रारामा पुगेर रारामा साइकल लेन पर्यटकीय पूर्वाधार निर्माणका लागि शिल्यानास समेत गरेका थिए । तर त्यो योजनाले पनि पूर्णता पाएन ।

कर्णाली प्रदेश सरकारबाट पटकपटक बजेट आउने तर काम अगाडि नबढ्ने, बजेट फ्रिज जाने प्रवृत्तिले रारामा सोचेअनुरूप संरचना बन्न सकेका छैनन् । कर्णाली सरकारमा कर्मचारीमाथि मन्त्रीहरुको कमजोर प्रस्तुति तथा निर्देशन, कर्मचारीहरुको कामछल्ने प्रवृति तगाएतका समस्या र सम्बन्धित निकायको उदासीनताका कारण रारामा पर्यटकीय पूर्वाधार तर्फ भौतिक संरचना बन्न सकेको छैनन् । भने छुट्याईएको बजेट समेत कार्यान्वयन हुनसक्दैन । कर्णाली सरकार मातहतका कार्यालयको कमजोरीका कारण कर्णाली चिनाउने र कर्णालीको अर्थतन्त्रलाई थप बलिायो बनाउनसक्ने संभावना बोकेको राराप्रति पछिल्लोसमय गलत बुझाई समेत बढ्दै गएको छ ।