दार्चुला हिमपहिरो अपडेट : प्रतिकुल मौसमले खोजी कार्यमा समस्या

काठमाडौँ – दार्चुलाको हिमाली क्षेत्रमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका ५ जनाको खोजी कार्यमा प्रतिकुल मौसम बाधक बनेको छ । मंगलबार व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरोमा परेर बेपत्ता भएका १२ जनामध्ये ७ जनालाई प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै बेपत्ता छन् ।

बेपत्ताको खोजीका लागि बुधबार सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङ दार्चुलाबाट डीएसपी इश्वरीदत्त भट्टको कमान्डमा २१ जनाको टोली परिचालन गरिएको छ । टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । तर, प्रतिकुल मौसमका कारण उद्धारमा समस्या देखिएको छ । घटना भएको क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।

मंगलबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो गएको थियो । त्यहाँ स्थानीय यार्सागुम्बा संकलन गर्न गएका बेला एक्कासी हिमपहिरो गएको थियो । मान्छे बेपत्ता भएको खबर पाएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको थियो ।

यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किने क्रममा हिमपहिरोमा परेको जानकारी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले दिए । उनका अनुसार टेण्ट भएका स्थानबाट यार्सा खोज्न संकलकहरु बिहान हिमालको नजिक जाँदै आएका थिए ।

केही दिनदेखि छाङरु र तिंकरलगायतका स्थानहरुमा हिमपात भइरहेको प्रहरीले जनाएको छ। डिएसपी पाण्डेका अनुसार अनुसार त्यहाँ अहिले करिब पाँच फिट हिउँ जमेको छ । बेपत्ता मध्ये चार महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ।