सुर्खेत- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् । आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने उनको चेतावनी थियो । नेपालले भने (ुकर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ । यसले गठबन्धन धरापमा पार्न सक्छ ।ु
अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताए । समाज समृद्ध भए मात्र जनता खुसी हुने बताउँदै उनले आफ्नो पार्टी समृद्धिको अभियानमा रहेको बताए ।
भ्रष्टाचार, सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिइएको पनि उनले बताए ।
आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरेको बताउँदै नेपालले देश विकासका निमित्त आफ्नो कार्यकालमा महत्त्वपूर्ण काम भएको दाबी गरे ।
अप्ठ्यारो बेलाको र पार्टीभित्रबाट चुनौती आउँदा पनि आफूले निकै काम गरेको भए पनि त्यसको चर्चा नभएको नेपालको दुखेसो थियो । ०७४ क निर्वाचनमा पार्टीले झन्डै दुई तिहाइ मत ल्याए पनि नेतृत्वबाट त्यसको कदर हुन नसक्दा कम्युनिस्ट शक्ति तित्तरवित्तर हुन पुगेको उनले दाबी गरे ।