रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सकियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ सकिएको छ । लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमाथिको सुनुवाइ सकिएको हो ।

महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा आज पेशी तोकिएको थियो । सुनुवाइ सकिएकाले आजै आदेश आउने तयारी छ ।

राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल सफलले सर्वोच्चमा रिट दर्ता गरेका थिए । पौडेलले दायर गरेको उक्त रिटमा ‘लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ’ भन्ने माग गरिएकाे थियो ।

पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत आठ व्यक्ति तथा निकायलाई विपक्षी बनाएका थिए।