राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबारदेखि पद सम्हाल्दै

 

काठमाडौँ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ठूलो मतान्तरले मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । नौदलीय गठबन्धनको साथ पाएका पौडेलले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २ सय ८४ मतभारले पछि पार्दै राष्ट्रपति चुनिएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि बिहीबार कांग्रेस नेता रामचन्द्र पौडेललाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल । तस्बिर स् एलिट जोशीरकान्तिपुर

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले पौडेलले सोमबार शपथग्रहण गरेपछि पद सम्हाल्नेछन् ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार पौडेललाई प्रतिनिधिसभा र राष्ट्रिय सभाका २ सय १४ तथा प्रदेशसभाका ३ सय ५२ सांसदले मत दिएका थिए । संघ र प्रदेशका ५ सय ६६ सांसदको ३३ हजार ८ सय २ मतभार पौडेलले पाएका हुन् । राष्ट्रपति निर्वाचनमा कुल मतभार ५२ हजार ६ सय २८ कायम गरिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाए पुग्नेमा पौडेलका पक्षमा ६४।२२ प्रतिशत मत खसेको थियो ।

निर्वाचनमा एमाले उम्मेदवार नेम्वाङलाई संघीय संसद्का ९८ र प्रदेशसभाका १ सय ६२ सांसदले मत दिएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका हुन् । प्रदेशसभा सदस्यको मतभार ४८ र संघीय सांसदको मतभार ७९ हुन्छ । संघीय संसद्का ३ सय ३१ सांसदमध्ये ३ सय १२ र प्रदेशसभाका ५ सय ५० मध्ये ५ सय १८ जनाले भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले शुक्रबार ४ बजे निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउँदै छ ।