काठमाडौं – आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपाल अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ।
दुबई रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले आजपनि खराब सुरुवात गरेको छ। १७ दशमलब १ ओभरमा ६८ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको थियो।
कप्तान रोहित पौडेल एक रनमै आउट भए। आसिफ शेखले ६ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ११ र कुशल मल्लले ३२ रनको योगदान गरे। दीपैन्द्रसिंह ऐरी ४ रनमा आउट भए।
१८ औं ओभरमा ऐरीलाई पाँचौं विकेटका रुपमा गुमाएपछि नेपालले सन्दीपलाई मैदान उतार्यो। यसअघि उनले गरेका प्रदर्शनका कारण ब्याटिङमा पनि उनको भर पर्नुपर्ने अवस्था बनेको हो।
तर सन्दीप आज ४० बल खेल्दै २७ रन बनाएर आउट भएका छन्। यसअघि अघिल्लो पपुवा न्यूगिनीविरुद्धको खेलमा अविजित ३५ रनको योगदान गरेका सन्दीपले युएईसँगको अघिल्लो खेलमा पनि नटआउट २६ रन जोडेका थिए।
लगातार ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपलाई सोमबार युएइविरुद्ध पाँचौं विकेटपछि मैदान उतारिएको हो।
जारी प्रतियोगितामा नेपाल ३१ खेलबाट ३० अंक जाडेर छैटौँ स्थानमा छ । समान खेलबाट एक अंक बढी बनाएको युएई पाँचौ स्थानमा छ।
बाँकी रहने ४ खेल भने मार्च ९ देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । कीर्तिपुरमा पनि नेपाल, युएई र पपुवा न्यूगिनीबीचको त्रिदेशीय सिरिज हुनेछ । नेपालले लिग टूमा खेल्न बाँकी ५ मध्ये सबै खेल जित्न सके सिधै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छ। शीर्ष तीनभित्र पर्न नसके क्वालिफायर खेल्नुपर्ने छ ।