काठमाडौं – त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन प्रक्रिया शुक्रबार सुरु हुँदैछ।
आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ।
विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार अपराह्न ३ बजेभित्र दर्ता गर्नु पर्नेछ। फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ।
नामावलीमाथि फागुन २५ गते दिउँसो १ बजेभित्र दाबी विरोध गर्न पाइने छ। दाबी विरोधमाथि छानबिन गरेर त्यही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने निर्देशनालयका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए।
उनकाअनुसार फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्रको नामावली दाखिला हुनेछ। साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्र प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध गर्ने समय तोकिएको छ। साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ।
प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ। त्यही ही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्देशनालयले जनाएको छ। बिहान ८ बजेदेखि निर्वाचन हुनेछ।