राष्ट्रपति निर्वाचन : अडानमा टसमस छैनन् ठूला दल

काठमाडौं – नयाँ राष्ट्रपति चुनिन अब १८ दिन मात्र बाँकी छ। निर्वाचनको लागि आयोगले २५ गतेको मिति तोकेको छ। त्यसअघि उम्मेदवारी दर्ता यही १३ गतेको समय निर्धारण गएिको छ।

उम्मेदवारी दर्ता गर्नुको एक साताअघिसम्म पनि ठूला दलले उम्मेदवारको टुंगो लगाएका छैनन्। बरु उनीहरुले पुरानै रटान दोहोर्‍याइरहेका छन्।

सत्तारुढ प्रमुख घटक नेकपा एमाले र प्रतिपक्षी बेन्चमा बसिरहेको संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आ–आफ्नै उम्मेदवार निर्वाचित हुने दाबी गरिरहेका छन् भने सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र राष्ट्रिय सहमतिको रटान लगाइरहेको छ।

आज विराटनगर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक एमालेकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुने दाबी सुनाए। एमालेले उठाएको उम्मेदवारलाई माओवादीले भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै उनले फागुन १३ गते उम्मेदवार सार्वजनिक गर्ने बताएका छन्।

अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको उल्लेख गर्दै उनले राष्ट्रपति निर्वचनलाई लिएरसत्ता समीकरण नबदलिने जिकिर गरेका छन्।

ओलीले विराटनगरमा गरेको दाबी सुर्खेतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले पनि सुनाए। संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका नेपाली कांग्रेसबाट राष्ट्रपति बन्नुपर्ने उनको तर्क छ।

सुर्खेतमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शीतलनिवासमा कांग्रेसकै नेतृत्व देखिने दाबी गरे। राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धनबीच तालमेल हुने बताउँदै उनले पुस १० गतेको समीकरण भत्किने संकेत पनि गरेका छन्। गठबन्धन ब्युउँताउन आवश्यक परेको अवस्थामा पुष्पकमल दाहाललाई नै पाँच वर्ष पूर्ण कार्यकाल प्रधानमन्त्री दिन सकिने बताए।

तर नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि आज राष्ट्रपति साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्। पोखरामा आयोजित पत्रकार सम्मेलनमा महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन्।

सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको तर्क छ। पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सत्ता र विपक्ष नभनी विश्वासको मत प्राप्त भए जस्तै राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका छन्। संविधान र गणतन्त्रको रक्षा गर्ने तथा परिवर्तनलाई आत्मसात गर्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्नेमा उनको जोड छ।