सत्ता गठबन्धन जुनसुकै बेला टुट्ने अवस्थामा छ : माधवकुमार नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छरु भन्ने टुंगो लाग्नेसमेत बताए।

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उनले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताए।

त्यसका लागि अव एक हप्ता मात्रै पर्खे पुग्ने उनको भनाइ थियो। अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा काँग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान कि भन्ने चिन्ता छाएको पनि बताए।

उनले भने, ‘अहिले देखिरहनु भएको छ एक किसिमको गठबन्धन छ अहिले। कुन दिन त्यो गठबन्धन भत्किने हो रु ठेगान छैन। त्यो गठबन्धनको सरकार भत्केपछि अनि काँग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता सुरु भईसकेको छ।’

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरे। के–के न गरौंला भनेर आएको सो पार्टीमा पनि पदको आशक्तिबाहेक अरु केही पनि नदेखिएको उनले आरोप लगाए।

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरि मण्डलेहरु जाग्न लागेको बताए। उनले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रिय सदस्य दूर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्कसमेत गरे।

त्यस अवसरमा अध्यक्ष नेपालले नेपालको भरपर्दो राजनीतिक पार्टीको रुपमा एकीकृत समाजवादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिए।