जुम्ला – चन्दननाथ नगरपालिका वडा नम्बर १ मा आगलागी हुँदा १५ वर्षीया एक बालिकाको जलेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गए राति करिब १२ बजेतिर स्थानीय लोकबहादुर भण्डारीको तीन तले घरमा आगलागी हुँदा उनकी छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको हो।
प्रहरीका अनुसार तीन तले घरमा भण्डारीकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए। आगलागी भएपछि अरु घर बाहिर निस्के पनि ती बालिका तेस्रो तलमा भएका कारण निस्कन सकेकी थिइनन्।
प्रहरी, दमकल र स्थानीयको सहयोगमा बिहान साढे २ बजे आगो नियन्त्रणमा लिइएको थियो।
आगलागी रातिको समयमा भएकाले तत्काल नियन्त्रण गर्न समस्या भएको प्रहरीले जनाएको छ। आगलागीले ढुंगा र काठले बनेको भण्डारीको तीन तले कच्ची घर पुरै जलेर नष्ट भएको छ।
क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगो के कति कारणले लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको छ।
मृतक बालिकाको शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पुर्याइएको छ।