सत्ता गठबन्धनले राष्ट्रपति निर्वाचनपछि निरन्तरता नपाउने नेता नेपालको संकेत !


काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कहिलेसम्म थेग्ने यकिन नभएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकलाई आज संबोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

“प्रचण्डलाई कहिलेसम्म थेग्ने होला थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने स्थिति बन्ला । तर, खटपट सुरु भइसकेको छ,” उनले बैठकमा भने, “तरल राजनीति कहिलेसम्म हो थाहा छैन ।” उनले माओवादीलाई ढुलमुले पार्टी भनेका छन् ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनमा आएको समस्यालाई लक्षित गर्दै राष्ट्रपतिको निर्वाचनसम्म गठबन्धन अगाडि बढे पनि त्यसभन्दा पछाडि नरहने संकेत गरेका हुन् ।