प्रकाशक र लेखकको धन्दा : पाठ्यसामग्री चोर्दै, पुस्तक बेच्दै !

काठमाडौं – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले पाठ्यसामग्री हुबहु चोरेर पुस्तक प्रकाशन गर्ने तीन प्रकाशक र चार लेखकलाई कारबाही गरेको छ।

केन्द्रका अनुसार एडभान्स सरस्वती प्रकाशन काठमाडौं, लेखक सन्तोष गुरुङ र प्रमोदप्यारा श्रेष्ठलाई कारबाही गरिएको छ। प्रकाशनबाट २०७७ मा प्रकाशित कक्षा ११ र २०७८ मा प्रकाशित कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यसामग्रीका विषयवस्तु पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा ११ र १२ को पुस्तक सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पुस्तकको विषय वस्तुसँग मिलेको थियो।

विषयवस्तु मिल्न गएको सम्बन्धमा प्रकाशकले पेश गरेको लिखित जवाफमा लेखकले विषयवस्तु सारेको स्वीकार गरेपछि कारबाही गरेको केन्द्रकी पाठ्यक्रम अधिकृत तारा पाण्डे तिवारीले जानकारी दिइन्।

उनका अनुसार अब लेखक सन्तोष र प्रमोदलाई शैक्षिक सत्र २०८० देखि तीन शैक्षिक सत्रसम्म सरकारी तथा निजी प्रकाशनबाट पाठ्यसामग्री लेखन तथा सम्पादन लगायत पाठ्यसामग्री प्रकाशनसँग सम्बन्धित कार्यमा प्रतिबन्ध लगाइएको छ।

‘उक्त प्रतिबन्धित व्यक्तिबाट पाठ्यासामग्री लेखन तथा प्रकाशन सम्बन्धी कार्य गरेको पाए कडा कानुनी कारबाही गरिने छ,’तिवारीले चेतावनी दिइन्।

प्रकाशकले पाएको पाठ्यासामग्रीको स्वीकृति रद्द

विकास केन्द्रले अनियमितता गरेको भन्दै एडभान्स सरस्वती प्रकाशन काठमाडौंले २०७७ सालमा कक्षा ११ र २०७८ सालमा कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पाठ्यासामग्री प्रयोग गर्न दिएको स्वीकृति रद्द गरेको छ। विकास केन्द्रका अनुसार अब उक्त प्रकाशकले दुई वर्षसम्म पाठ्यसामग्रीको स्वीकृति पाउने छैन। छापिएको पुस्तक बिक्री वितरणमा पनि रोक लगाइएको छ।

त्यस्तै,सम्पादक ज्ञानबहादुर अधिकारी, लेखक राममणि बगाले र ब्रिलियन्ट बुक्स एण्ड डिस्ट्रिब्युटर्स प्रालि काठमाडौं पनि कारबाहीमा परेका छन्। उक्त प्रालिबाट शैक्षिक सत्र २०८० मा लागू गर्न स्वीकृतिका लागि उक्त केन्द्रमा पेश गरेको कक्षा ५,६,र ७ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयको पाठ्यसामग्री विकास केन्द्रबाट प्रकाशन भएको पुस्तकसँग कतिपय विषयवस्तु,चित्र, उदाहरण र अभ्यास क्रियाकलाप हुबहु सारेपछि केन्द्रले कारबाही गरेको छ।

पाठ्यक्रम अधिृकत तिवारीले भनिन्,‘उनीहरूलाई पनि शैक्षिक सत्र २०८० देखि तीन शैक्षिक सत्रसम्म सरकारी तथा निजी प्रकाशनबाट पाठयसामग्री लेखन तथा सम्पादन लगायत प्रकाशनसँग सम्बन्धित कार्यमा प्रतिबन्ध लगाइएको छ।’

ओसन पब्लिकेसनसँगको पनि स्वीकृति रद्द

विकास केन्द्रले ओसन पब्लिकेसनसँगको कक्षा ७ को साइन्स एण्ड टेक्नोलोजीको पाठ्यसामग्री स्वीकृति रद्द गरेको छ। उक्त पब्लिकेसनले प्रकाशन गरेको पाठ्यसामग्रीको मूल्य शिक्षा मन्त्रालयको निर्धारण गरेबमोजिम नभएका कारण गत वैशाखमा रद्द भएको थियो। केन्द्रका अनुसार उक्त पुस्तकको मूल्य ५३ रुपैयाँ राखिएको छ।

पाठ्यसामग्री चोर्ने जो कोहीलाई छोडिन्न : महानिर्देशक अर्याल

विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले कानुन विपरीत यसरी पाठ्यसामग्री चोरेर पुस्कत प्रकाशन गर्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिए।

उनले भने,‘विकास केन्द्रको पाठ्यसामग्री यसरी हुबहु चोरेर पुस्तक प्रकाशन गर्न पाइँदैन। हामीले त्यस्तो गरेको फेला पारे जसरी पनि कानुनी कारबाही गर्छौँ।’

पाठ्यक्रम अधिकृत तिवारीले पनि कसैले अरुले प्रयोग गरेको वा छापिसकेको पाठ्यसामग्री हुबहु चोर्न नपाइने बताइन्। त्यस्तो गरेको पाइए पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका बमोजिम कानुनी कारबाही गर्ने चेतावनी उनले दिइन्। sorce by thahakhabar.com