काठमाडौं – नेपाल टी(ट्वान्टी लिगमा स्पट फिक्सिङ प्रकरणले आलोचित बनेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक मंगलबार पोखरामा बस्दैछ ।
क्यानका ७ जना कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि बोर्ड बैठक बस्न लागेको हो । बोर्ड बैठकमा १७ वटा एजेन्डामाथि छलफल हुने बताईएको छ ।
बोर्ड बैठकमा मुख्य एजेन्डाका रूपमा पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा र भारतीय कम्पनीसँगको सम्झौता खारेजबारे छलफल हुनेछ । क्यानको रणनीतिक तथा व्यावसायिक साझेदार सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता खारेज गर्न खेलकुद परिषद्को छानविन समितिले सुझाव दिएको थियो ।
नेपाल टी(ट्वान्टी लिगबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राखेपको छानबिन कार्यदलको प्रतिवेदनबारे पनि मंगलबारको बैठकमा छलफल हुनेछ ।
क्यानले नाबालिका किशोरीमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्नका लागि बोर्डमा प्रस्ताव पेस गर्ने जनाएको छ ।
सन्दीप अहिले धरौटीमा रिहा भएका छन् । अदालतबाट अन्तिम फैसला आउन भने बाँकी नै छ ।