जर्मनीले तेस्रो पटक जित्यो हक्की विश्वकपको उपाधि

काठमाडौं – जर्मनीले हक्की विश्वकपको उपाधि जितेको छ ।

भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा आइतबार राति भएको फाइनल खेलमा युरोपियन प्रतिद्धन्दी बेल्जियमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जर्मनीले उपाधि जितेको हो । खेलको निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा जर्मनीले साविक विजेता बेल्जीयमलाई ५–४ ले पाखा लगाएको हो ।

जितसँगै जर्मनी तेस्रो पटक हक्की विश्वकपको च्याम्पियन बनेको छ । यसअघि जर्मनीले २००२ मा पहिलो पटक हक्की विश्वकपको उपाधि जितेको थियो । २००६ मा भने लगातार दोस्रो पटक उपाधि जितेको थियो । तेस्रो उपाधिको लागि भने जर्मनीले १७ वर्ष कुर्नु परेको हो ।

यसपटक अस्ट्रेलियालाई ३–१ ले पराजित गर्दै नेदरल्यान्ड्स तेस्रो भएको छ ।