सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडानमा समस्या : यात्रु अलपत्र


काठमाडौं – अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। सर्भर डाउन भएकाले यात्रुहरुको विवरणसहित अन्य विवरण हेर्न नपाएपछि फ्लाई दुबई, इन्डिगो एयर, थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका लागि विमानस्थल पुगेका सयौं यात्रु अलपत्र परेका छन्।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले सरकारी सर्भरमै समस्या आएका कारण विमानस्थलमा पनि समस्या भएको बताए। सम्बन्धित निकायमा खबर गरिएको र छिटै सञ्चालन हुने पर्खाइमा रहेको उनले बताए।

अध्यागमन विभागमात्र नभई सबै सरकारी वेबसाइटमा समस्या आएको जानकारी पाएकोले छिटै समाधान हुने उनले बताए। राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको हो।

गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका ठाकुरले बताए।

यस्ता समस्या समय–समयमा आइरहेको भन्दै उनले यसको वैकल्पिक व्यवस्था गर्न पनि आफूहरुले सरकारलाई जानकारी गराएको बताए। सर्भरका कारण यात्रुहरुको अलपत्र भएपछि विमानस्थलमा तनाव भएको छ।

अहिले विमानस्थलमा यात्रुहरूले अध्यागमनविरुद्ध नाराबाजी गरिरहेका छन्। उनीहरुले आफ्नो प्लेन छुट्ने भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्दै अध्यागमनको आलोचना गरिरहेका छन्।

यो समाचार nepallive.com मा रहेको छ ।