सुर्खेत – कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरिएको छ । बिहीबार प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।
उनले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै दलले स्पष्ट बहुमत नपाएका कारण धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ ।
कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व बन्ने छ । दुई दलका नेताहरुले केन्द्रको ‘सिग्नल’ कुरिरहेका छन् । अहिले सम्म कसको नेतृत्वमा सरकार गठन हुने भन्ने कुरा केन्द्रबाट नआएकाले प्रदेशमा अन्योल भएको छ ।
यहाँ कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादीको १/१ र एक जना स्वतन्त्र सांसद रहेका छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २१ सिट आवश्यक पर्दछ । एमाले, माओवादी र राप्रपाको गरी २४ सिट हुन्छ ।