काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९÷८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ। चालु आवका साउन, भदौ र असोज सम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार,प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ।
आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ ९करअघि० नाफा कमाएको हो।
सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरु समेटिएको विवरणअनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको छ।
आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ।
देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ।
आव २०७२÷७३मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ। आव २०७६÷७७मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव २०७७÷७८मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो। गत आव २०७८÷७९मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६करोड रुपैयाँ पुर्याएको थियो।