मलाई राजनीतिको बारेमा त्यति धेरै ज्ञान छैन राजनीतिमा म योग्य व्यक्ति पनि होइन ।म कुनै पार्टीको व्यक्ति पनि होइन। विकास कहीँ देखेकी छैन । चुनावका बेला करोडौँ खर्च गर्ने नेता देशमा सङ्कट आइलागेको बेला हराउँछन् । हिजो दैलोमा आएर भोटको भिख माग्ने नेतालाई कतै देख्दिँन ।
के यही हो विकास ? हिजो हुम्ला,जुम्ला ,डोल्पा र कालिकोटका जनताको अवस्था एउटा सिटामोल खान नपाएर आफ्नो ज्यान गुमाउनु परेको थियो। अवस्था अहिले नि त्यस्तै छ । चुनाव अघि करोडौँ खर्च गर्नु भन्दा त्यही पैसा समाज विकासमा लगानी लगाउनुस् । जनताले त्यही देखेर भोट दिनेछन् । धेरै कुरा अनि थोरै काम गरेर होइन । कर्णाली आफै पनि बिकट छ । त्यसमाथी पिछडिएका जिल्लाहरूमा कतिपय सुत्केरी महिलाले हेलिकप्टर नपाएर ज्यान गुमाउनु पर्ने अवस्था छ।
म बुझ्ने भएदेखि सबैका घोषण पत्रमा एउटै कुरा देख्छु । शिक्षा ,स्वास्थ्य ,खानेपानी र सडक २०७४ को सबै पार्टीको घोषणपत्रमा पनि यही कुरा उल्लेख थियो । अहिले पनि यही छ । खै पहिले पनि राम्रो बाटो नभएको कारण कालिकोट देखि कर्णाली प्रदेश राजधानिमा आउन ६ घण्टाको बाटोमा १२ लाग्थ्यो । अहिले पनि त्यही हो । खै त सबै बालबालिकाले शिक्षा पएको ? तीन वर्षमा साक्षर प्रदेश घोषणा गर्ने नीति लिएको कर्णाली प्रदेशका १० जिल्लामध्ये अझै पाँचवटा जिल्ला साक्षर घोषणा हुन बाँकी छ ।
कर्णालीका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेका छन। मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पाका ३६ स्थानीय तह साक्षर घोषणा गर्न बाँकी नै छ । कहिले कर्णाली प्रदेश साक्षर हुन्छ? तिम्रा सिद्धान्त फेरिए, नयाँ सरकार फेरियो, व्यक्ति फेरिए तर कर्णालीको मुहार र तिम्रो घोषणपत्र कहिले फेरिएन । तिम्रा ती घोषणपत्रमा कहिले देखिन मैले सामाजिक मुद्दाका कुराहरू, कहिले देखिन मैले बालमैत्री समाज । आखिर कहिले आउँछ तिम्रो घोषणपत्रमा नेपाली जनताको माग ? सबैजनालाई मेरो सुझाब अब हाम्रो होइन राम्रोलाई भोट हालौँ र असल नेतृत्व छानौँ।