कर्णालीका मन्त्रीले गरे, प्रदेश तालिम केन्द्र निर्माणस्थलको निरीक्षण

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले प्रदेश तालिम केन्द्र निर्माणस्थलको स्थलगत निरीक्षण गरेका छन् ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ खिच्चने चौरमा निर्माण गर्न लागिएको प्रदेश प्रशिक्षण प्रतिष्ठान, आवासीय तालिम केन्द्र स्थापनाका लागि मन्त्रीद्धोयले जग्गाको स्थलगत अवलोकन, निरीक्षण गरेका हुन् ।

शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच सम्पन्न उक्त जग्गा अवलोकन तथा अनुगमन, निरीक्षण कार्यक्रममा मन्त्री सहित सरकारी कर्मचारी र जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
कर्णाली सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाको नेतृत्वमा तालिम केन्द्र स्थापनाका लागि पहल गरिएको हो । यसअघि मन्त्री रोकायाको नेतृत्वमा बसेको बैठकले जुम्लाको खिच्चने चौर क्षेत्रको खाली जग्गा तालिम केन्द्र स्थापनाका लागि उपलब्ध गर्ने निर्णय गरेको थियो ।

तालिम केन्द्र स्थापनाका लागि उपलब्ध जग्गा जुम्ला क्षेत्र नम्बर (ख) मा पर्छ । मुख्यमन्त्री शाही र भौतिक पूर्वाधार मन्त्री रोकाया लगाएतको टिम पुगेपछि जुम्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, भद्रभलादमी बुद्धिजीवी र स्थानीवासीको भेला गरी तालिम केन्द्रबारे थप छलफल गरिएको छ ।

भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले जुम्ला सिंजाको खिच्चनेमा तालिम केन्द्र स्थापना हुने आश्वासन दिदै त्यसका लागि गुरु योजना तयारको प्रक्रिया अघि बढ्ने बताए । आवासीय तालिम केन्द्र स्थापनाका लागि मन्त्रीद्धोयले खेलेको भुमिकाप्रति जुम्लावासीले धन्यबाद व्यक्त गरेका छन् ।