जुम्लामा प्रदेश तालिम केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध

सुर्खेत – जुम्लामा प्रदेश प्रशिक्षण प्रतिष्ठान, तालिम केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गर्ने निर्णय भएको छ ।

कर्णाली सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाको नेतृत्वमा तालिम केन्द्र स्थापनाका लागि पहल सुरु भएको हो ।

मन्त्री रोकायाको नेतृत्वमा शनिबार बसेको बैठकले जुम्ला कनकासुन्दरी गाउँपालिका ७ र ८ स्थित खिच्चने चौर क्षेत्रमा रहेको खाली जग्गा तालिम केन्द्र स्थापनाका लागि उपलब्ध गर्ने निर्णय गरिएको छ । कनकासुन्दरी गाउँपालिका ७ स्थित रोकायाबाडा प्रा.वि मा भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी स्थानीयबासीले तालिम केन्द्र स्थापनाका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने सहमति गरेका छन् ।

तालिम केन्द्र स्थापनाका लागि उपलब्ध जग्गा जुम्ला क्षेत्र नम्बर (ख) मा पर्छ । विभिन्न राजनीतिक दलका प्रतिनिधि, भद्रभलादमी बुद्धिजीवी र स्थानीयपासीको भेला गरी तालिम केन्द्रबारे छलफल गरिएको थियो । तालिम केन्द्र स्थापनाका लागि गुरु योजना तयारको प्रक्रिया अघि बढ्ने मन्त्री रोकायाले बताए । प्रदेश प्रशिक्षण प्रतिष्ठान, तालिम केन्द्र स्थापनाका लागि मन्त्री रोकायाको पहललाई स्थानीयले महत्वपूर्ण काम ठानेका छन् ।