काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित अन्य नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ललितपुर जिल्ला अदालतले आज उनीहरुविरुद्ध पुर्जी जारी गरेको हो । उनीहरुविरुद्ध हातहतियार तथा खरखजाना कर्तव्य ज्यानविरुद्धको मुद्दा छ ।
प्रहरीका अनुसार प्रतिबन्धको समयमा एनसेल कार्यालय अगाडि विप्लव समूहले राखेको बम विस्फोट हुँदा एकजनाको ज्यान गएको थियो । सोही घटनालाई लिएर प्रहरीले मुद्दा चलाएको थियो । घटनाको जिम्मेवारी विप्लव समूहले लिएको थियो ।
अदालतले एक सूचनामार्फत भनेको छ, “२०७९/०४/०६ गतेको आदेशानुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८(१३) बमोजिम यो ३५ (पैंतीस) दिने पक्राउ पुर्जी प्रकाशित गरिएको छ ।”
सूचना प्रकाशित भएको मितिले यो ३५ दिनभित्र अदालतमा उपस्थित नभएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम कारबाही हुनेसमेत सूचनामा उल्लेख छ ।
विप्लवमाथि हातहतियार तथा खरखजाना मुद्दा लगाइएको छ । यसबाहेक पदम बहादुर राई, खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर, नवीन विश्वकर्मा लगायत २० जनाविरुद्ध पुर्जी जारी गरिएको छ ।
पक्राउ पुर्जी जारीबारे प्रहरीलाई आधिकारिक जानकारी नआएको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । -12khari