समितिलाई जनार्दनको जवाफ : मेरो विश्वास नभए सुरक्षाकर्मी र मर्यादापालकलाई सोध्नुहोस् !

पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतालाई इन्कार गरेका छन्।

संसदीय छानबिन विशेष समितिमा बिहीबार उपस्थित भएर शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नै नभएको दाबी गरेका हुन्।

पूर्वमन्त्री शर्माले यसअघि संसदलगायत ठाउँमा बोलिरहेका अभिव्यक्ति नै छानबिन समितिमा पनि दोहोर्‍याएका हुन्।

अनधिकृत व्यक्तिको प्रवेशबारे आफ्नो कुरा पत्यार नलागे सुरक्षाकर्मी र मर्यादापालकसँग सोध्न सकिने उनको भनाइ छ।

‘बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नै भएको छैन। तपाईंहरूलाई मेरो विश्वास छैन भने सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न सक्नुहुन्छ,’ बैठकमा उनले भनेका छन्।

समितिमा उनले सिसिटिभीमा फुटेज स्टोरेजको अवधि आफूलाई थाहा नभएको बताएका छन्।

‘सिसिटिभीले कहिलेसम्मको दृश्य राख्न सक्छ यस विषयमा म जानकार हुने कुरा भएन। यसबारे विज्ञहरूसँगै सोधपुछ गर्दा राम्रो होला। मबाट कसैलाई पोस्ने काम भएको छैन र हुने छैन,’ समितिसमक्ष शर्माले भनेका छन्।

उनले छानबिन समितिमा अर्थ मन्त्रालयकै अधिकारीहरूले स्थापित विधि, सिद्धान्त, मान्यताका आधारमा बजेट निर्माण गरिएको जिकिर गरेका छन्।

अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेका खबर आएपछि शर्माले गत असार २२ मा पदबाट राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको थियो।