फेरि नेकपा लफडा, माधव र वामदेवमाथि खनिए ऋषि कट्टेल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सो नामको विषयमा फेरि लफडा सुरु भएको छ । अध्यक्ष ऋषि कट्टेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता अभियान चलाइरहेका वामदेव गौतमले आफ्नो पार्टी र नाम दुबै हडप्ने षडयन्त्र गरेको गम्भीर आरोप लगाएका छन् ।

अध्यक्ष कट्टेलले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै अदालतको निर्णयबाट पराजित र अध्यादेशबाट पार्टी बनाउन पुगेका तत्व तथा कथित १५ सेप्टेम्वरको नाममा गुट चलाइरहेकाहरूलाई भाडामा लिएर नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व र वैधानिकता कब्जा गर्ने दोस्रो प्रयासलाई समेत २०७८ पौष १७, १८ र १९ गते जनकपुरमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनले पूर्ण रुपमा पराजित गरिदिएपनि षडयन्त्र कायमै राखेको बताएका छन् ।

उनले सम्मेलनपछि पनि भाडामा परिचालित षड्यन्त्रकारीहरुले सम्मेलनबाट निर्वाचित अध्यक्षलाई किर्ते हस्ताक्षर गरी पार्टीबाट निस्कासन गरको हास्यास्पद घोषणा गरेको बताएका छन् ।

‘जसको हस्ताक्षर भनिएको थियो सम्बन्धित कमरडेहरूले मेरो किर्ते हस्ताक्षर गरे भनि निर्वाचन आयोगमा आफैं उपस्थित भइ निवदेन दर्ता गरेपछि भोलिपल्टै देखि नक्कली कावा अध्यक्षको नामबाट गतिविधि हुन थाल्यो’, अध्यक्ष कट्टेलले भनेका छन् । उनले यी सवै दुष्प्रयास असफल भएपछि माधव नेपालको परोक्ष उपस्थिति र निर्वाचन आयोगबाट आधिकारिकता दिलाइदिने आश्वासनपछि कथित सम्मेलनको नाटक मञ्चन गरिएको समेत बताएका छन् । ‘अध्यादेशी पार्टी र उसका एलाइन्सहरू नेकपाको आधिकारिकता हडप्न कसरी लागि परेका रहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण वामदेव गौतमले जनता जान्न चाहन्छन् भन्ने कार्यक्रममा दिएको अन्तरवार्ताबाट पनि बुझ्न सकिन्छ’, कट्टेलले नेपाल र गौतममाथि आरोप लगाएका छन् ।

साथै उनले नेकपाबारे निर्वाचन आयोगले गरेको भनिएको कथित निर्णयलाई खारेज गर्दै कानुनी र जनपरिचालन मार्फत प्रतिरोध गर्ने निर्णय गरेको जनाएका छन् । यसअघि नेकपाको एक समुहले गत माघमा अध्यक्ष कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको दावी गरेको थियो । अध्यक्ष कट्टेललाई निष्कासन गर्दै कार्यबाहक अध्यक्षको जिम्मेवारी लोक नारायण सुवेदीलाई दिएको सो समुहले जनाएको थियो ।

सुवेदीको समुहले कटटेलमाथि कारवाही गर्न भन्दै माघ ५ मा छानबिन समिति नै गठन गरेको थियो । छानबिन समितिले ७ माघमा सोधेको स्पष्टीकरणको जवाफ नदिएकाले कट्टेललाई पार्टीबाट निष्कासित गरिएको सुवेदी समुहले जनाएको छ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजन भएसँगै सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको थियो ।
स्मरण रहोस् तत्कालीन नेकपाको आधिकारिकता कट्टेलले पाएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा विभाजित बनेको थियो । – ratopati