काठमाडौं – आईसीसी पुरुष विश्वकप लिग-२ क्रिकेटमा नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ ।
स्कटल्याण्डमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको तेस्रो खेलमा शनिबार नामिबियाले नेपाललाई ६३ रनले पराजित गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनाएको हो।
उसका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । बलिङतर्फ नेपालका कप्तान सन्दिप लामिछानेले ४ विकेट लिएका हुन् ।
जवाफमा २ सय रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभर ५ बलमा अलआउट हुनुपूर्व १ सय ३६ रन मात्रै जोड्न सकेको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाएका हुन् । नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिएका छन् ।
यो हारसँगै नेपाल विश्वकप लिग-२ क्रिकेटको अंक तालिकाको छैटौं स्थानमा झरेको छ भने नामिबिया पाँचौं स्थानमा उक्लिएको छ । श्रृंखलाको अन्तिम खेलमा नेपालले आइतबार स्कटल्याण्डको सामना गर्ने भएको छ ।