वीरेन्द्रनगर – सुर्खेतमा बालबालिकाका लागि कोभिड–१९ विरुद्ध (फाइजर बायोएनटेक) खोप लगाउन शुरु गरिएको छ । पाँच वर्षभन्दा माथि र ११ वर्षसम्मका बालवालिकाहरूको लागि (फाइजर बायोएनटेक) खोप लगाइने भएको हो ।
विहिबारदेखि सुरु गरिएको खोप अभियानमा पाँच वर्षभन्दा माथि र ११ वर्षसम्मका ४९ हजार ६ सय १९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ । खोप अभियानमा पाँच सय जना स्वास्थ्यकर्मी, पाँच सय जना स्वयमंसेविका र पाँच सय शिक्षक परिचालन गरिएको छ । उनीहरु सबै स्थानीय तहका खोप केन्द्रमा पुगेर कोभिड–१९ विरुद्धको खोप बालबालिकाहरुलाई लगाउनेछन् ।
‘बालबालिकाहरूलाई लगाइने फाइजर बायोएनटेक खोप ९५ प्रतिशत प्रभावकारी रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । खोप सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहमा यही असार नौ देखि संचालन भई १७ गते सम्पन्न भईसक्ने छ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेका अनुसार खोप सबै पालिकामा पुगिसकेको छ । खोप लगाउन शुरु गरेको एक साता भित्र सम्पन्न गरिसक्नुपर्ने जनस्वास्थ्य सेवा कार्याल सुर्खेतले जनाएको छ । स्थानीय तहमा रहेका विद्यालय र स्वास्थ्य संस्थालाई खोप केन्द्र बनाइएको छ ।
पाँच वर्षमाथिका बालबालिकाहरू विद्यालय जाने भएकोले विद्यालयमा नै खोप केन्द्र राख्ने राष्ट्रिय नीतिअनुसार सुर्खेतमा पनि तयारी गरिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप कोल्ड चेन निरिक्षक हरि बस्नेतले जानकारी दिए ।
उनका अनुसार खोप अभियानमा कोही पनि बालबालिकाहरु खोपबाट बन्चित नहुन भनेर प्रचार–प्रसारमा पनि जोड दिइएको छ ।