अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुग्यो

काठमाडौं – अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८० पुगेको छ । यसबारे त्यहाँको सरकारी समाचार एजेन्सीले जानकारी दिएको छ । सामाजिक सञ्जालमा प्रकाशित समाचारमा पक्तिका प्रान्तका विध्वंश देखिएको छ ।

दुर्गम क्षेत्रमा हेलिकोप्टरले पीडितलाई अस्पताल पुर्याइरहेको पनि देख्न सकिन्छ । स्थानीय बख्तर समाचार एजेन्सीले मृतकको संख्या बढ्न सक्ने बताउँदै ६ सयभन्दा बढी घाइते भएको जानकारी दिएको छ ।

स्थानीय समयानुसार मंगलबार राती साढे एक बजे दक्षिण पूर्वी शहर खोस्टबाट ४४ किलोमिटर टाढा भूकम्प गएको थियो ।

‘दुर्भाग्यवश, हिजो राती पक्तिका प्रान्तका चार जिल्लाम ठूलो भूकम्प गयो । यसले हाम्रा सयौँ जनताको ज्यान लियो, घाइते बने र दर्जनौँ घरहरु ध्वस्त भए,’ सरकारी प्रवक्ता बिलाल करिमिले ट्वीट गरे ।

‘हामी सबै सहायता एजेन्सीलाई प्रकोप रोक्नका लागि तुरुन्तै टोली पठाउन आग्रह गर्दछौँ,’ उनले थपे । तालिबान अधिकारीहरुले देशको पूर्वमा प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न एजेन्सीहरुलाई आह्वान गरेको छ ।